Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहिमपात प्रतिकार्य योजना तयार

हिमपात प्रतिकार्य योजना तयार


रुकुमपूर्व ।
चिसो सुरु भएसँगै रुकुम (पूर्व)मा स्थानीय प्रशासनले हिमपात प्रतिकार्य योजना बनाउन सुरु गरेको छ । जिल्लाका धेरैजसो ठाउँमा हिमपात हुने भएकाले हिमपातबाट बच्न प्रतिकार्य योजना बनाउन सुरु गरिएको हो । हिमपातबाट प्रभावित नागरिकलाई सहयोग गर्न तथा उद्धारका लागि प्रतिकार्य योजना बनाउन थालिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । रुकुमपूर्व लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला हो । यहाँ हिमपातको कारण धेरै नागरिक प्रभावित हुने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले हिमपात प्रतिकार्य योजना तयार पारेको छ । जिल्लाको उच्च लेकाली तथा हिमाली क्षेत्रमा हुने हिमपातले उच्च बस्तीमा भएका नागरिक प्रभावित हुने भएपछि विपत् व्यवस्थापन समितिले पहिले नै त्यसको प्रतिकार्यको योजना बनाएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

तत्कालै जिल्लास्थित सबै गाउँपालिकाले आ–आफ्नो गाउँपालिकाभित्रका हिमपातबाट प्रभावित हुनसक्ने घरधुरीको विवरण संकलन गरी अध्यावधिक गरी पठाउने र प्रभावित हुनसक्ने घरधुरीलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने निर्णय विपत् व्यवस्थापन समितिको बैठकले गरेको छ । विपत्मा परेकालाई उद्धारको लागि सुरक्षा निकायका टोली परिचालनको लागि तयारी अवस्थामा राख्ने र सोको परिचालन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले गर्ने प्रजिअ राईले बताए ।

प्रजिअ राईकाअनुसार जिल्लामा हिमपात पूर्वतयारीको लागि आवश्यक पर्ने स्रोत साधन र बजेटको माग गृह मन्त्रालयमा गरिनेछ । यस्तै हिमपात र अन्य विपत्को समयमा पनि खाद्य अभाव हुन नदिन खाद्य संस्थान तथा सरोकारवाला वितरण संस्थाले समयमै खाद्यान्न सामग्री सबै पालिकामा पु¥याउने व्यवस्थाको लागि सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ । यस्तै बैठकले यस जिल्ल्लाको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ बमोजिम जिल्लामा हुने र हुनसक्ने सबै खाले विप् व्यवस्थापन तद्धार र प्रतिकार्यको लागि लुम्बिनी प्रदेश कानुन तथा आन्तरिक मामिला मन्त्रालय र गृह मन्त्रालयमा प्राविधिक अनुमान गरी बजेट माग गर्ने प्रजिअ राईले बताए ।

विपत् व्यवस्थापन समितिले विगतका वर्षमै जिल्लाका तीनवटै स्थानीय तहका हिमपात प्रभावित बस्तीको पहिचान गरेको छ । तीनै स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा चिसो र हिमपातले प्रभावित हुनसक्ने बस्तीको पहिचान गरिएको हो । रुकुमपूर्वमा हिमपातबाट सबैभन्दा बढी प्रभावित हुने पुथाउत्तरगङ्गा गाउँपालिका हो । पुथाउत्तरगङ्गाका अधिकांश बस्ती बर्सेनी हिमपातबाट प्रभावित हुने गरेका छन् । हिमपातबाट जिल्लाका भूमे र सिस्ने गाउँपालिका पनि प्रभावित हुनेगरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया