Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसङ्खुवासभाका २ हजार घरधुरीको फुसको छानो हट्ने

सङ्खुवासभाका २ हजार घरधुरीको फुसको छानो हट्ने


किमाथाङ्का ।
सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार नौ सय ८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ ।

सरकारले नागरिकका घरको फुसको छानो भएकाहरूलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले घरमा फुसको छानोमुनि बस्न बाध्य गरिब तथा विपन्न समुदायको अवस्थाको चाँडै अन्त्य हुने सुरक्षित नागरिक आवास समन्वय समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले जानकारी दिए । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ति निम्तिने गरेको स्मरण गराउँदै सरकारले फुसको छानो विस्थापन गरी जस्तापाता लगाउन यस्तो अनुदान कार्यक्रम ल्याएको सांसद गौतमले जानकारी दिए । उनले भने, ‘सङ्खुवासभाका १० वटै स्थानीय तहका फुसको छानो नहटेसम्म सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहने छ ।’

खाँदबारीका तीन सय ४०, चैनपुरका तीन सय ६०, धर्मदेवीका एक सय ८६, पाँचखपनका दुई सय ४३ र मादीका एक सय ६५ घरधुरीले जस्तापाताका लागि रकम पाउनेछन् । त्यसैगरी चिचिलाका एक सय २९, भोटखोलाका ६१, मकालुका एक सय ४४, सभापोखरीका एक सय ६३ र सिलिचोङका एक सय ७९ घरधुरीले ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत अनुदान पाउने आयोजनाले जनाएको छ । सुरक्षित आवास निर्माणबापत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ । सेवाग्राहीलाई पहिलो किस्तास्वरूप ३० हजार रूपैयाँ उपलब्ध गराइनेछ भने घर निर्माणका लागि जस्तापाता खरिद गरेको बिल भर्पाइ पेस गरिसकेपछि बाँकी रकम पाँच प्रतिशत व्यवस्थापन खर्च कटाएर उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले तोकेबमोजिमका सम्भावित लाभग्राही प्रत्येक वडास्तरबाट लाभग्राहीको तथ्याङ्क सङ्कलन भइरहेको सुरक्षित नागरिक आवास समन्वय समितिका सदस्य जिल्ला समन्वय समिति अध्यक्ष सुमन शाक्यले बताए । सरकारले देशभरका २० हजार घरधुरीलाई सुरक्षित आवासका लागि करीब एक अर्ब रूपैयाँबराबरको बजेट वितरण गर्न लागिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया