Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसमुदायस्तरमै देखिन थाल्यो कोरोना

समुदायस्तरमै देखिन थाल्यो कोरोना


सुबास बस्नेत
दोलखा ।
दोलखामा कोरोना संक्रमितका बिरामी गाँउ–गाँउमा देखिन थालेका छन् । यसअघि बजार क्षेत्र र सो आसपासका क्षेत्रमा बसोबास गर्ने मानिसमा मात्रै कोरोना संक्रमण देखिएको थियो । जिल्लामा बिहीबार मात्रै तीन गाउँका थप सात जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार दोलखा अस्पताल आएकाहरूको पीसीआर परीक्षणका लागि पठाइएका ३१ मध्ये सात जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमा तामाकोसी गाउँपालिकाका पाँच जना महिला, विगु गाउँपालिकाका एक जना पुरुष र मेलुङ गाउँपालिकाका एक जना पुरुष रहेका छन् ।

योसँगै जिल्लाको नौवटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ भने जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कोभिड फोकल पर्सन बासुदेव अधिकारीले जानकारी दिए । यस्तै जिल्लाको मेलुङ गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमणको बिरामी भेटिएको हो । बिहिबार थपिएका सात संक्रमित सहरमा बसोबास गर्ने नभई गाउँमै बसोबास गर्ने नागरिक भएकाले गाउँसम्मै कोरोना फैलिएको पाइएको हो ।

गत सोमबार पनि भीमेश्वर नगरपालिकाभित्रका समुदायस्तरमा कोरोनाको संक्रमित बिरामी भेटिएका थिए । १७ गते भीमेश्वर नगरपालिकाले लक्षणसहित बिरामी देखा परेपछि स्वाब संकलन गरी २५ जनाको पीसीआर टेष्ट गर्न धुलिखेल पठाउँदा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ४ र ७ का दुई/दुई जनामा, वडा नम्बर ८ ,३, र ६ का एक/एक जनामा कोरोना संक्रमण भएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए । त्यसैगरी संक्रमित हुने चार जना सुरक्षाकर्मी रहेका थिए । दोलखाबाट स्वाब संकलन गरी पठाइएका व्यक्तिमा लक्षण देखापरेपछि टेष्ट गरिएको प्रमुख खड्काले बताए । लक्षणसहितको ५ वटा वडामा संक्रमण देखा पर्नुले दोलखामा समुदायमा संक्रमण भएको अनुमान गरिएकोमा बिहिबार पनि गाउँकै नागरिकमा संक्रमण भेटिएकाले जिल्लाका गाउँमै कोरोना फैलिएको पाइएको हो ।

दोलखामा पछिल्लो समयमा संक्रमण तीव्ररूपमा फैलिन थालेको छ । दशैँको अवधिमा एक सयभन्दा बढीमा कोरोना संक्रमण भएको छ । राजधानी काठमाडौँ तीव्र गतिमा कोरोना संक्रमण भएको र दशैंमा गाउँ–गाँउमा राजधानीबाट मानिस ओहरदोहर गर्नाले पनि संक्रमण बढेको अनुमान गरिएको छ । दैनिकको कोरोना भाइरसका बिरामी फेला पर्न थालेपछि यता सदरमुकाम चरीकोटमा भने अघिल्लो दिनको तुलनामा चहलपहल र भिडभाड कम हुँदै गएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया