Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधथप २८ सयमा कोरोना पुष्टि

थप २८ सयमा कोरोना पुष्टि


काठमाडौं ।
कोरोनाका संक्रमितको संख्या घट्नुको सट्टा बढ्दो रुपमा देखिएको छ । आइतबार थप दुई हजार आठ सय १७ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार तीन सय ११ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । कोरोना देखिए पनि काठमाडौं उपत्यकालगायतका बढी जनसंख्या र जनघनत्व भएका जिल्लाहरुमा भने कुनै किसिमको बन्द गरिएको छैन । बन्दले मात्र कोरोना नियन्त्रण नहुने पुष्टि भएपछि बन्दको आयोजना नगरिएको हो ।

आइतबारबाट नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको हो । आइतबारसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या पनि एक लाख ५७ हजार नौ सय २६ पुगेको छ । काठमाडौं उपत्यकामा आइतबार एक हजार पाँच सय ३३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा एक हजार दुई सय ९४ जना, ललितपुरमा एक सय ६२ र भक्तपुरमा ७७ जनामा कोरोना देखिएको हो ।

कोरोनाबाट आइतबार थप १७ जनाको मृत्यु भएको छ । मोरङ, काठमाडौं, रुपन्देहीमा दुई/दुई जना, झापा, सुनसरी, धनकुटा, ललितपुर, भक्तपुर, काभ्रे, स्याङ्जा, कास्की, लमजुङ र रोल्पाका एक/एक जना संक्रमितको मृत्यु भएको हो । यसैबीच, प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरूपमा कोरोना सङ्क्रमितहरूलाई सहज उपचार सेवा पु-याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय शय्या हुने र यसमा एचडीओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ । सो उपचार केन्द्र तिहारअगाडि सञ्चालन हुनेछ ।

प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडीओ र एयरकन्डिसनसहितको एक सय शय्याको केन्द्र निर्माण कार्य द्रुतगतिमा अगाडि बढिरहेको छ । लक्षणसहितका सङ्क्रमितहरूलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, मालपोत कार्यालय, सिन्धुपाल्चोकको चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालयले आइतबर सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सूचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया