Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्यालय भवन भव्य, विद्यार्थी नगन्य !

विद्यालय भवन भव्य, विद्यार्थी नगन्य !


दोलखा ।
जिल्लामा भूकम्पले ध्वस्त विद्यालय भवनको पुनर्निर्माण धमाधम भइरहेको छ । दोलखामा छ वर्षको अवधिमा करिब तीन सय विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएका छन् । सामुदायिक विद्यालयका भवनहरू पक्की र भव्य बन्दै गर्दा विद्यार्थीहरूको संख्या भने दिनानुदिन घट्दै गइरहेका छन् । भूकम्प जानुअघि सामुदायिक विद्यालयका कक्षामा खचाखच देखिने विद्यार्थी अहिले धेरै अभिभावकको रोजाइ निजी विद्यालय बनेकाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या न्यून भएको हो ।

भूकम्पअघि पक्की एकतले भवन समेत नभएका सामुदायिक विद्यालयका भवन भूकम्पपछि दुईदेखी चार तलासम्म थपेर बनाएका छन् । तिनै विद्यालयमा विद्यार्थीको संख्या भने औँलामा गन्न सकिन्छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तथा नेपाल सरकारको अनुदानमा बनेका दुई सय १९ वटा भवनमध्ये धेरैका तला थपिएका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयमा भन्दा निजी स्कुलमा राम्रो पढाइ हुने देखेपछि धेरै विद्यार्थी अंग्र्रेजी सिक्नकै लागि भए पनि सामुदायिक विद्यालय त्यागेर निजी स्कुलमा पढ्ने गरेका छन् । जिल्लाको गौरीशंकर माध्यमिक विद्यालय विगुमा सुविधासम्पन्न तीन तले भवन निर्माण भएको छ । त्यस विद्यालयमा विद्यार्थीको उपस्थिति भने चिन्ताजनक रहेको सोही गाउँका स्थानीय सोनाम शेर्पाले गुनासो गरे । शेर्पा भन्छन्, ‘भूकम्प जानुअघि यहीँ विद्यालयमा पढ्ने विद्यार्थीको लाइन देख्दा अचम्म लाग्थ्यो ।

अहिले विद्यार्थी औँलामा गन्न सकिन्छ ।’ त्यसै गुनासो बैतेश्वर गाउँपालिकामा रहेको कालिदेवी आधरभूत विद्यालयका प्रधानाध्यापक राम्जी घिमिरेको पनि छ । उनी भन्छन्, ‘भूकम्पअघि तीन सयको हाराहारी विद्यार्थी थिए, अहिले विद्यार्थी घटेर एक सय २० मा झरेको छन् ।’ उनको विद्यालय अहिले पुनर्निर्माण भइरहेको छ । ‘विद्यालयको तला थप्न सकियो तर विद्यार्थी थप्न सकिएन’ उनले दुखेपो पोखे । अभिभावकहरू निजी विद्यालयमा राम्रो पढाइ हुने भन्दै चर्को मूल्य तिरेर छोराछोरीलाई बोर्डिङमा पढाउँछन् । यता सुविधासम्पन्न सामुदायिक विद्यालयका कक्षाकोठा भने खाली छन् ।

दोलखामा ७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सयौँ विद्यालय ध्वस्त बनेका थिए । तीन सय ६५ वटा विद्यालय रहेको जिल्लामा हालसम्म करिब ८५ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखाका अनुसार हालसम्म जिल्लामा दुई सय ५३ वटा विद्यालयको पुनर्निर्माण सकिएको छ । जसमध्ये नेपाल सरकार जिल्ला शिक्षा कार्यान्वयन इकाइ शिक्षाले दुई सय १९ वटा भवनको पुनर्निर्माण सम्पन्न गरेको छ ।

त्यसैगरी आपत्कालीन सहयोग कार्यक्रमबाट २१ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने जापान सरकारको सहयोग तथा अनुदानमा १२ वटा सामुदायिक विद्यालयको पुनर्निर्माण सकिएको छ । त्यसैगरि नेपाल सरकार र अन्य विदेशी दातृ निकायको सहयोगमा ४४ वटा विद्यालयको पुनर्निर्माण भइरहेको पाइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया