Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव समापन


काठमाडौं । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ भन्ने नारामा साथ सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) समापन भएको छ । मंसिर ९ गते सुरु भएको महोत्सव १२ देशको १८ नाटक मञ्चन तथा विभिन्न कार्यशाला, अन्तर्क्रिया, मास्टरक्लास गर्दै शनिबार समापन भएको हो ।

समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले रङ्गकर्मीको प्रयासबाट नेपालमा रङ्गमञ्चको सक्रियता र विकास भइरहेकोमा प्रशंसा गर्दै सरकारले यसमा आवश्यक पहल गर्न नसकेको बताए । उनले भने, ‘सरकारले नाटक र रङ्मञ्चको लागि निश्चित नीति तय गर्न सकेको छैन, गर्नुपर्नेजति बजेटको व्यवस्था पनि गर्नसकेको छैन, रङ्गमञ्चको विकास र सहजीकरणका लागि आवश्यक पहलहरु आगामी दिनमा गर्ने प्रयत्न रहन्छ ।’ यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले रङ्गमञ्च समाजको लागि अपरिहार्य भएकोले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताए । उनले भने, ‘रङ्गमञ्चको विविध आयाम आइसक्यो, हामीले उहिले गर्ने र अहिलेको समकालीन रङ्गमञ्चको शैली, विधिहरु भिन्न भइसके । यसले समाज र मानिसको मनलाई प्रभाव पारिरहेको छ । यसमा लागिपर्ने सबै कलाकर्मी, रङ्गकर्मी यसका धन्यवादका पात्र हुनुहुन्छ ।’

महोत्सव निर्देशक सिर्जना सुब्बाले कोभिडको लामो अन्योलपछि पुनः चलायनमान हुनथालेको नेपाली रंगमञ्चलाई नाट्य महोत्सवले नयाँ ऊर्जा दिएको बताइन् । रंगकर्मी केदार श्रेष्ठले समृद्ध समाजका लागि रङ्गमञ्चको संरक्षण, विकास र समृद्धितिर लाग्न आह्वान गरेका थिए । समारोहमा माहोत्सवका सम्पूर्ण सदस्यहरु, सहयोगी, प्रयोजकहरुलाई सम्मान गरिएको थियो । समापन नाटकको रुपमा आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर भएको थियो ।

लोककथामा आधारित प्रनिश मगर लिखित, विकास जोशीको सहदिर्नेशन र प्रमिला खनालको कोरियोग्राफीका साथ दयाहाङ राईले निर्देशन गरेको ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो । यो नाटक पुस १७ सम्म नियमित मञ्चन हुँदै छ । सन् २०१९ मा विभिन्न नाट्य संस्थाले संयुक्त रुपमा आयोजना गरेको यस महोत्सवको दोस्रो संस्करणको आयोजना मण्डला थिएटरले गरेको हो । तेस्रो संस्करण दुई वर्षपछि हुनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया