Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसाना तथा मझौला व्यवसाय संकटमा

साना तथा मझौला व्यवसाय संकटमा


काठमाडौं । साना तथा मझौला व्यवसायीहरूले नीतिनियमको अभावले गर्दा साना व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन् । नेपाल साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कर्यक्रममा उनीहरुले सरकारले प्रस्ट नीति नबनाउँदा दुःख पाएको गुनासो गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश सांसद कन्चन चन्द्र बादे श्रेष्ठले नीतिनियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रोसँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रस्ट नभएको कारणले यो क्षेत्रले दुःख पाएको बताए । अर्थतन्त्रमा यो क्षेत्रको धेरै महत्व हुँदाहुँदै पनि विभिन्न समस्याले गर्दा ओझेलमा परेको उनले स्वीकारे । सानो–सानो पुँजी लगानी गरेर माथि उठ्न खोजेका व्यवसायीहरुलाई सरकारले राम्रोसँग सहजीकरण गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । यस्तै उनले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसायको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने बताए । साथै उनले यस क्षेत्रको उन्नतिको लागि सम्बन्धित निकायमा संयोजन गर्न तयार रहेको विश्वास दिलाए ।

साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय महासचिव डा. गोपाल प्रसाद तिवारीले लघु, घरेलु, साना तथा मझौला व्यवसायहरूले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न नसकेको बताए । उद्योगीले गुणस्तर उत्पादन गर्न नसकेको, बजार पनि राम्रो नपाएको, वित्तीय स्रोत परिचालन पनि गर्न नसकेको र सरकारले सहयोग पनि गर्न नसकेकोले यो क्षेत्रले जतिसुकै अर्थतन्त्रमा योगदान छ भने पनि समस्याले ग्रषित भएको उनको भनाइ थियो । उनले अहिलेसम्म साना तथा मझौला उद्योगसम्बन्धी नीति नभएको, संस्था दर्ता गर्दा पनि विभिन्न झन्झट खेप्नुपर्ने, सरकारी कार्यालयबाट सहयोग नपाउनेजस्ता समस्या रहेको बताए । उद्योग विभागको तथ्यांकका अनुसार ठूला उद्योगले भन्दा साना, लघु तथा मझौला उद्योगले दिने रोजगारी अत्यधिक रहेको प्रस्ट पारेको उनको भनाइ छ । त्यसैले ठूला उद्योगलाई पनि साना साना उद्योग चाहिने हुनाले सरकारले साना उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए ।

त्यसैगरी साना तथा मझौला व्यवसायी महासंघका सह–अध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए । उनले बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने कुरामा जोड दिए । साना तथा मझौला व्यवसायीहरुले भोगेका समस्याहरुलाई समाधान गर्न पनि उनले सरकारसँग माग गरे । साना तथा मझौला व्यवसायी संघ काभ्रे जिल्लामा अनिता बस्नेतको अध्यक्षतामा नौ सदस्यीय समिति गठन भएको छ । उक्त कार्यक्रममा विभिन्न व्यवसायमा लागेका साना उद्योगीहरुको सहभागिता थियो । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

ताजा अपडेट