Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारभरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान


चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला महानगरपालिकाले आफैं निर्माण गर्ने गरी बिहीबार बोलपत्र आह्वान गरेको हो ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार एक अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा रङ्गशाला निर्माण गर्न बोलपत्र आह्वान गरिएको हो । यसअघि वनाइएका संरचनाको समेत उपयोग गर्नेगरी निर्माण गर्न बोलपत्र आह्वान गरिएको उनले राससलाई जानकारी दिए ।

भरतपुर महानगरपालिका(१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण हुनेछ ।

बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा रङ्गशाला निर्माण गर्न लागिएको हो । सत्तरी प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत महानगरपालिकाले लगानी गर्नेगरी निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा सङ्घीय सरकारले समेत सहयोग गर्ने जनाइएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले ‘भ्रमण वर्ष २०२४’ को एउटा आकर्षक गन्तव्य रङ्गशाला भएकाले सकारात्मक सन्देशका लागि भ्रमण वर्ष उद्घाटन अगावै बोलपत्र आह्वान गरिएको जानकारी दिइन् ।

“यो हाम्रो सङ्कल्प थियो । आज पूरा भएको छ”, उनले भनिन्, “लामो समयको अथक मेहनत, प्रयास र तत्परताले रङ्गशाला निर्माण सुनिश्चित भएको छ । यसले नेपाली खेलकुद जगत्का लागि उत्साह थपिएको छ ।” उनले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता यही मैदानमा खेलाउने गरी तयारी गरिएको बताइन् ।

गत कात्तिक २३ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, मोरङको विराटनगर र काठमाडौँको मूलपानीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ ।

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माण अघि बढाइएको बताए । यो समय सकिएपछि थप गर्न मिल्नेगरी कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहमतिमा जग्गा लिइएको उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला निर्माण थालिएको थियो ।

२०७५ साल माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेसनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताए । उनले भने, “महानगरको यो महत्त्वपूर्ण आयोजना हो । अब बन्ने सुनिश्चित भयो ।”

फाउण्डेसनले निर्माणका क्रममा तिर्नुपर्ने बाँकी भुक्तानी निर्माणका क्रममा लगाइएको महायज्ञमा घोषणा गरिएको बाँकी रकम उठाएर भुक्तानी गर्ने सहमति भएको छ । यसका लागि समिति निर्माण गरेर काम गर्ने तयारी गरिएको छ ।


क्याटेगोरी : पालिका समाचार, महानगर

तपाईको प्रतिक्रिया