Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहिमपातका कारण जिल्लाको जनजीवन प्रभावित

हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित


आशिष बहादुर सिंह
बझाङ, पुस २०
वर्षासँगै भएको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित बनेको छ । बझाङलगायत सुदूरपश्चिमका सबै पहाडी हिमाली जिल्लामा अहिलेसम्मकै भारी हिमापात भएको छ । हिमपातले यस क्षेत्रको जनजीवन कष्टकर हुनुका साथै विद्युत्, टेलिफोन सेवा तथा यातायात समेत बन्द भएको छ । यो हिमापात १० वर्षपछिकै ठूलो भएको स्थानीयबासीको भनाइ छ । हिउँले बझाङको सबैभन्दा गहिरो भागमा रहेको चैनपुरमा समेत हिमपात भएको छ ।

यातायातका साधन बन्द हुँदा धनगढी, महेन्द्रनगर, काठमाडौंलगायत जिल्ला बाहिर जाने र यात्रु अलपत्र परेका छन् । डडेल्धुरादेखि बझाङको सुनकुडासम्मको सडकमा ५ फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । त्यस्तै हिमपातले क्षति गरेका कारण सुदूरपश्चिमको पहाडी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण फोन तथा ल्याण्डलाइनको एडिएसएल सेवा अवरुद्ध भएको छ । टेलिकमका सम्पूर्ण फोन सेवा अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बझाङ बाजुरालगायतका जिल्लामा शुक्रबारदेखि सञ्चार सम्पर्कविहीन हुनपुगेका छन् ।

बिहीबार दिउँसोदेखि परेको बाक्लो हिमपातका कारण नेपाल टेलिकमको डडेल्धुरास्थित काफली टावरमा खराबी आउँदा यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा र डोटीमा फोन सेवा तथा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । यस्तै, डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा समेत अवरुद्ध छ । हिमपातका कारण विद्युत् सेवा अवरुद्ध भएको हो । अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालनमा ल्याउनको लागि कर्मचारी खटाइएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया