Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो


बेइजिङ, फागुन २
कोरोनाभाइरसबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेई प्रान्तको वुहानमा मात्र एकै दिनमा २ सय ४२ जनाको मृत्यु भएको छ । सिन्ह्वाका अनुसार एकै दिनमा उक्त संख्यामा मृत्यु भएको हो । हुबेई प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण सुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि वृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ । वुहानमा मात्र थप १४ हजार ८ सय ४० जनामा यस भाइरसको संक्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएको छ । बुधबार भएको यस मृत्युसँगै मृतकहरूको कुल संख्या बुधबारसम्म १ हजार ३ सय ५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्किएका बाहेक हाल संक्रमण भइ उपचार गराइरहेका विरामीको संख्या झन्डै ६० हजार पुगेको छ । यस संक्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ । उक्त पार्टीले त्यस स्थानमा चीनको सांघाईका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघि मात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा संक्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस संक्रमणबाट उहानमा ज्यान गुमाएका २ सय ४२ जनामध्ये १ सय ३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो । हालसम्म यस प्रान्तमा मात्र संक्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया