Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि उत्पादनमा अधिक विषादी प्रयोग

कृषि उत्पादनमा अधिक विषादी प्रयोग


काठमाडौं । नेपालमा कृषकको संख्या बढे पनि कृषिकार्य गरिने जग्गा घट्दै गएको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले कृषकको संख्यामा वृद्धि भएको तथा कृषि गर्ने जग्गामा कमी आएको बताएको छ । विभागले बिहीबार ‘राष्ट्रिय कृषि गणना–२०७८’ सार्वजनिक गर्दै मुलुकभर करिब ४१ लाख कृषकहरूले २२ लाख हेक्टरभन्दा बढी जमिनमा खेतीपाती गर्दै आएको जानकारी दिएको छ । कृषिमा लाग्नेहरूले मानव स्वास्थ्यमा भन्दा पनि उत्पादनमा जोड दिएर विषादी प्रयोग अधिक गरेको पनि तथ्यांकले देखाएको छ ।

कृषि जग्गाको उपयोग : केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना–२०७८ अनुसार २०६८ को तुलनामा कृषकपरिवार बढेको छ भने कृषिकार्य गरिने जग्गा घटेको छ । २०७८ मा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषकपरिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषि गणना २०६८ अनुसार नेपालमा ३८ लाख ३१ हजार ९३ कृषकपरिवारले २५ लाख २५ हजार छ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गर्दै आएका थिए ।

बढ्दो सहरीकरण र सिँचाइको समस्याले कृषिकार्य गरिने जग्गामा कमी आएको बताइएको छ । तर, पछिल्लो समय व्यावसायिक कृषिकार्य गर्नेहरू बढ्दा कृषिकार्य गर्ने घरपरिवार बढेको देखिन्छ । तथ्यांकअनुसार कुल कृषक परिवारमध्ये ९६ दशमलव आठ प्रतिशत अर्थात् ३९ लाख ९९ हजार दुई सय ८५ ले खेतीपाती गर्नेगरेका छन् भने बाँकी तीन दशमलव दुई प्रतिशत अर्थात् एक लाख ३१ हजार पाँच सय चार परिवारले पशुपन्छी मात्र पाल्ने गरेका छन् ।

कृषि गणना २०६८ को तुलनामा कृषि गणना २०७८ मा खेतको क्षेत्रफल करिब एक लाख ५४ हजार हेक्टर घट्न गई १४ लाख २९ हजार नौ सय ८० हेक्टर र पाखो क्षेत्रफल एक लाख ५३ हजार हेक्टर घट्न गई सात लाख ८८ हजार चार सय २९ हेक्टर कायम भएको छ । कृषि गणना २०७८ अनुसार १२ लाख नौ हजार दुई सय ६५ दशमलव पाँच हेक्टर जग्गामा सिँचाइ सुविधा छ ।

१० वर्षमा कृषकपरिवारले प्रयोग गरेको अस्थायी बाली लागेको जग्गा र स्थायी बाली लागेको जग्गा दुवै घटेको छ । मुलुकमा रहेको जमिन अस्थायी बाली, अस्थायी चौरचरण, बाँझो जग्गा, स्थायी बाली लागेको जग्गा, निजी वन, घरआँगन, गोठ आदिले ओगटेको पाइन्छ । अस्थायी बाली लागेको क्षेत्रफल करिब तीन लाख ९२ हजार हेक्टर घट्न गई १७ लाख ३० हजार नौ सय ८१ हेक्टर र स्थायी बाली लागेको क्षेत्रफल करिब २३ हजार हेक्टर घट्न गई एक लाख ४५ हजार तीन सय ६२ दशमलव नौ हेक्टर कायम भएको छ । तर, अस्थायी बाँझोको क्षेत्रफल ९५ प्रतिशतले बढेर ६० हजार पाँच सय ४२ दशमलव छ हेक्टर र वनवनेलोको क्षेत्रफल ४६ दशमलव नौ प्रतिशत वृद्धि भई ८० हजार छ सय ६९ दशमलव पाँच हेक्टर हुन पुगेको छ ।

बीउ, विषादीको प्रयोग बढ्यो : नेपालमा केही वर्षयता उन्नत जातका बीउ, विषादी र रासायनिक मलको प्रयोग बढेर गएको देखिन्छ । विगत १० वर्षमा धानबालीमा उन्नत बीउ प्रयोग गर्ने कृषकपरिवारको प्रतिशत उस्तै रहे पनि हाइब्रिड बीउ प्रयोग गर्ने कृषकपरिवारको प्रतिशत पाँच दशमलव चारबाट बढेर करिब १६ दशमलव पाँच प्रतिशत पुगेको छ भने विषादी प्रयोग गर्नेहरू २९ प्रतिशतबाट बढेर ४४ दशमलव छ प्रतिशत हुनपुगेको छ ।

कृषकहरूले बढी उत्पादन लिनका लागि मानव स्वास्थ्यलाई हानी गर्ने रासायनिक कीटनाशक विषादी प्रयोग गरी धान, आलु र तरकारी उत्पादन गरेको पनि तथ्यांकमा उल्लेख छ । नेपालीको मुख्य खाना चामल हो । धान उत्पादनमै कीटनाशक औषधि प्रयोग भएको कारण चामल स्वास्थ्यका लागि हानिकारक देखिएको छ । चामलपछि दोस्रो खाना तरकारी हो । तरकारीमा पनि आलुमा सर्वाधिक विषादी प्रयोग गरेको पाइएको छ । अन्य तरकारी उत्पादनमा पनि किसानहरूले विषादी हाल्ने गरेको बताएका छन् । धानखेती गर्ने २७ लाख ६५ हजार चार सय ६७ कृषक परिवारमध्ये १४ हजार सात सय ११ कृषक परिवारले कडा (रातो) विषादी प्रयोग गरेको बताएका छन् । ७५ दशमलव नौ प्रतिशत परिवारले धानबालीमा रासायनिक मल प्रयोग गर्नेगरेका छन् । मकैमा ४८ दशमलव छ प्रतिशत रासायनिक मल प्रयोग भएको पाइएको छ । गहुँमा २८ दशमलव तीन प्रतिशत कृषक परिवारले विषादी र ५८ दशमलव पाँच प्रतिशतले रासायनिक मलको प्रयोग गरेका छन् ।

तथ्यांक कार्यालयका अनुसार २०६८ सालको कृषि गणनामा भन्दा २०७८ सालको कृषि गणनामा धानमा बढी विषादी प्रयोग भएको छ । २०६८ सालको गणनामा २९ प्रतिशत धानबालीमा विषादी प्रयोग भएकामा अहिलेको गणनामा ४४ दशमलव ६ प्रतिशत विषादी प्रयोग भएको छ । २०५८ मा धानबालीमा विषदीको प्रयोग २५ दशमलव ३ र २०४८ मा १३ दशमलव २ प्रतिशत हुन्थ्यो । आलुमा २०६८ सालको कृषि गणनामा २७ दशमलव ९ प्रतिशतमा विषादी प्रयोग भएको पाइएको थियो भने २०७८ मा बढेर ३६ दशमलव १ प्रतिशत पुगेको छ । २०६८ मा कुल उत्पादित तरकारीमध्ये १५ दशमलव ९ प्रतिशतमा विषादी प्रयोग भएकामा अहिले त्यो बढेर २६ दशमलव ७ प्रतिशत पुगेको छ ।

तरकारी बालीमा विषादीको प्रयोग गर्ने कृषक परिवार विगत १० वर्षमा १५ दशमलव आठ प्रतिशतबाट बढेर २६ दशमलव सात प्रतिशत हुनपुगेका छन् । तरकारी बालीमा रासायनिक मल प्रयोग गर्ने कृषकपरिवार २३ दशमलव तीन प्रतिशत देखिएको छ ।

७० प्रतिशतको आम्दानी कृषि : ७० दशमलव चार प्रतिशत कृषकपरिवारको मुख्य आम्दानीको स्रोत कृषिकार्य रहेको छ । उनीहरूले आफूसँग प्राप्त जग्गाको प्रयोग गरी कृषिकार्य गर्दै आएको बताइएको छ । गणनाअनुसार आफ्नै जग्गामा मात्रै कृषिकार्य गर्ने परिवार संख्या ३३ लाख ७२ हजार २६ जना, अरुको हकको जग्गामा मात्रै कृषिकार्य गर्ने कृषकपरिवार संख्या ५९ हजार ९१ जना, अन्य हक नखुलेको जग्गामा मात्रै कृषिकार्य गर्ने कृषक परिवार १० हजार दुई सय ८१ छन् भने बाँकी छ लाख ८९ हजार तीन सय ९१ जना कृषकपरिवारले मिश्रित प्रकार अर्थात् आफ्नो, अरुको र उपभोग नखुलेको जग्गा चलन गरेको देखिएको छ ।

कृषि गणना २०७८ अनुसार अधिकांश (८८ प्रतिशत) कृषक परिवारको मुख्य कृषि उत्पादन/क्रियाकलाप खाद्यान्न बाली रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः तरकारी बाली ६ प्रतिशत र पशुपालन तीन प्रतिशत रहेको देखिन्छ । यस गणनाअनुसार आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भने बताउने परिवार ६८ दशमलव आठ प्रतिशत, सबै बिक्रीको लागि एक दशमलव एक प्रतिशत मुख्यतः घरायसी उपभोग र केही बिक्रीको लागि २४ दशमलव सात प्रतिशत र मुख्यतः बिक्री र केही घरायसी उपभोगका लागि हो भने बताउने ५४ प्रतिशत रहेको देखिएको छ । नेपालको मुख्य बालीको रूपमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बालीका साथै पछिल्लो समय हुने व्यावसायिक तरकारी खेती रहेको पाइन्छ ।

यस्तै गणनाले माटो परीक्षण, बीमालगायतको समस्या समेत उजागर गरेको छ । सरकारले कृषिका समस्यालाई प्राथमिकतामा राखी कार्यान्वयन नगर्दा कृषि र कृषि पेसा अँगाल्नेलाई विविध समस्या रहेको देखिन्छ । यस गणनाअनुसार जम्मा कृषकपरिवारमध्ये दुई दशमलव छ प्रतिशतले मात्र विगत तीन वर्षमा माटो परीक्षण गरेको छन् ।

कृषि ऋण र बीमा : २०७८ को कृषि गणनामा चार लाख ८३ हजार दुई सय आठ जना (११ दशमलव सात प्रतिशत) कृषकपरिवारले कृषि प्रयोजनको लागि ऋण लिएको देखिन्छ भने २०६८ मा आठ लाख ३५ हजार नौ सय २१ (२१ दशमलव ८ प्रतिशत) कृषकपरिवारले ऋण लिएको देखिएको थियो । अहिलेको अनुसार एक लाख ८२ हजार चार सय ४१ (४.४ प्रतिशत) कृषकपरिवारले कृषि बीमा गरेको देखिन्छ भने यसरी बीमा गर्नेमध्ये सबैभन्दा बढी एक लाख ५३ हजार नौ सय ६२ (८४ दशमलव ४ प्रतिशत) कृषकपरिवारले पशुपालन कार्यको बीमा गरेको देखिन्छ ।

यस गणनामा तीन लाख आठ हजार पाँच सय १२ (७.५ प्रतिशत) कृषकपरिवारले सन्दर्भ वर्षमा सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने सरकारी अनुदान पाएकामध्ये सबैभन्दा बढी एक लाख ४२ हजार पाँच सय ७६ (४६ दशमलव २ प्रतिशत) कृषकपरिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन् ।

सबैलाई पुग्दैन वर्षभरि खान : कृषि गणना २०७८ अनुसार सीमित प्रतिशत कृषकपरिवारले मात्र कृषि पेसाबाट वर्षभरि खान पुग्ने बताएका छन् । गणनाअनुसार ४५ प्रतिशत कृषकपरिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने कृषि गणना २०६८ मा यो ४० प्रतिशत रहेको थियो ।

साथै कृषि गणनाका अनुसार कृषकपरिवारमा अक्सर बसोबास गर्ने जम्मा जनसंख्या एक करोड ९४ लाख ४७ हजार नौ सय ५५ जनामध्ये महिला ९९ लाख चार हजार एक सय ३० जना (५०.९ प्रतिशत) र ९५ लाख ४३ हजार आठ सय २५ जना (४९.१ प्रतिशत) पुरुष देखिन आएको छ । विभागले जारी गरेको कृषि गणनाले सरकारले कृषि तथा कृषकको सम्बन्धमा योजनाहरू तर्जुमा गर्नको लागि सहयोग पुग्ने विभागका अधिकारीहरू बताउँछन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया