Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउद्योगी तथा व्यापारीलाई संकटको बेलामा मूल्य वृद्धि नगर्न महासंघको आग्रह

उद्योगी तथा व्यापारीलाई संकटको बेलामा मूल्य वृद्धि नगर्न महासंघको आग्रह


काठमाडौ ।
नेपाल उद्योग वाणिज्य महासंघले संकटको बेलामा अत्यावश्यक सामानहरुमा अनावश्यक संचिति र मूल्य वृद्धि नगरि आमसर्वसाधारणलाई सेवा प्रदान गर्न सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेको छ । यसैगरि आवश्यक सामाग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेकोले उपभोक्ताहरूले पनि अनावश्यक संचिति नगरिदिन महासंघले अपिल गरेको छ ।

पछिल्लो पटक कोभिड १९ संक्रमण तीव्ररुपमा बढेसंगै सरकारबाट आम जनताको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखी मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारि भएको छ । कोभिडको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र पनि अत्यन्त चिन्तित र संवेदनशील रहेको महासंघको भनाई छ ।

महासंघले मंगलबार एक विज्ञेप्ती जारी गरि जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सवै प्रयासमा सदाझै सहयोग गर्ने निजी क्षेत्रको प्रतिवद्धता रहेको जनाएको छ । निशेधाज्ञाका समयमा आम जनताको दैनिकजीवन सहज बनाउन, उनीहरूको दैनिक आवश्यकता पुरा गर्न, अत्यावश्यक खाद्यान्न लगायत स्वास्थ्य सामग्रीहरूको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसंगै रहेको महासंघको भनाई छ ।

साथै महासंघले उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निशेधाज्ञाको समयमा पनि रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको बताएको छ ।

कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले गत आर्थिक बर्षमा १.९९ र चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रहेको महासंघको भनाई छ । दोस्रो त्रैमास देखि तंग्रिन थालेको अर्थतन्त्रमा फेरि संक्रमण बढदै जादा असर पर्ने देखिएकोले सरकार, निजी क्षेत्र सहित सवैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई पैmलिन नदिइ अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्नेमा महासघले जोड दिएको छ ।

आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन, उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघले सरकारसंग आग्रह समेत गरेको छ ।

यसैगरि निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न पनि महासंघ सरकारसंग आग्रह गरेको छ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराई कामसंगै राहत उपलब्ध गराउन सकिने महासंघको भनाई छ ।

लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत बर्ष घोषणा भएको राहतको निरन्तरतासंगै नया लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न पनि महासंघ सरकारसंग माग गरेको छ । यस्तै फ्रन्टलाइनमा बसेर सेवा र वस्तु उपलब्ध गराउने व्यवसायीलाई प्राथमिकतामा राखि खोप उपलब्ध गराउन पनि महासंघ माग गरेको छ ।

संक्रमण फैलिन नदिन र विरामीहरूको उपचारका लागि अस्थायी आइसोलेसन, क्वारिन्टीन र अस्पताल समेतको आवश्यकता पर्ने देखिएको महासंघको भनाई छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया