Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘निरन्तर सुधारभित्र गुणात्मक सुधार’

‘निरन्तर सुधारभित्र गुणात्मक सुधार’


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भए पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताएका छन् । ‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन’, उनले भने, ‘मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।’

साथै उनले जनताको पसिनाको थोपा–थोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन समेत दिए । शुक्रबार मन्त्रालयमा आयोजित राजस्व सचिव रामशरण पुडासैनीको विदाइ कार्यक्रममा उनले संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘राजस्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ’, उनले भने ।

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुनलागेका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुनलागेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग विदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । उनले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व संकलनमा समेत सुधार आउने बताए । राजनीतिक र प्रशासनिक क्षेत्र एक अर्काको परिपूरक रहेको भन्दै उनले प्रशासनिक क्षेत्रको जनशक्तिले आफूलाई लोकसेवाबाट आएको भनेर घमण्ड प्रस्तुत गर्न नहुनेमा जोड दिए । उनले भने, ‘हामी राज्यबाट केही लिन आएको हैन, राज्यलाई केही दिन आएको हो । जनता र राष्ट्रको सेवा गर्नु हाम्रो धर्म हो । घमण्ड गर्नु हुँदैन ।’

तीन दशकभन्दा लामो समय निजामति सेवामा बिताउँदाको अनुभव सुनाउँदै उनले नेपालमा राजनैतिक क्षेत्रले ब्युरोक्रेट्सलाई अझै पूर्ण रुपमा विश्वास नगरिसकेको बताए । वि.सं. २०४५ असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एसियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामती सेवामा ३३ वर्ष बिताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण आज आइतबारदेखि सेवानिवृत्त हुँदै छन् । कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति अर्थ मन्त्रालयका अध्यक्ष वामदेव पन्थीलगायत विभिन्न विभाग तथा समितिको तर्फबाट सचिव पुडासैनीलाई मायाको चिनो र दोसल्लासहित विदाइ गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

ताजा अपडेट