Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधज्यानमार्ने धम्की दिएर पाँच करोड फिरौती माग्ने दुई जना पक्राउ

ज्यानमार्ने धम्की दिएर पाँच करोड फिरौती माग्ने दुई जना पक्राउ


पोखरा । कास्की प्रहरीले पोखराको दीपस्थित सच्याई केन्द्र सञ्चालक केन्द्रका केन्द्रीय अध्यक्ष प्रकाश दीप गैरेलाई ज्यान मार्ने धम्की दिएर पाँच करोड रुपैयाँ फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.२ खुर्कोटका ३६ वर्षका लक्ष्मण दर्जी र कुश्मा १४ आर्थरका ४२ वर्षीय दीपक बहादुर क्षेत्री रहेका छन् ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नंं.८ सिमलचौर जाल्पा मन्दिर नजिकैबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए । प्रहरी उपरीक्षक थापाका अनुसार दर्जी ४ वर्ष कतार बसेर एक महिना अघिमात्र नेपाल फर्किएका थिए । प्रहरीका अनुसार पक्राउ परेका क्षेत्री यसअघि पनि आपराधिक गतिविधिमा संलग्न थिए । उनीबिरुद्ध पर्वत प्रहरीमा २०७९ मा हातहतियार तथा खरखजनासम्बन्धी मुद्धा चलेको र २०७१ मा वडा प्रहरी कार्यालय बगर कास्कीमा अभद्र व्यवहारसम्बन्धी मुद्धा चलेको देखिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुले सच्याइका अध्यक्ष गैरेसँग हिन्दी भाषामा कुराकानी र एसएमएस गर्दै निकै चलाखीपूर्ण तारिका अपनाएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार दर्जीले सच्याईका अध्यक्ष गैरेको भिडियो हेर्ने गरेको, माघ १३ गते शनिबार सच्याई केन्द्रमै पुगेर २ घण्टा बसेर गैरेका सम्पर्क नम्बर लिएका थिए । त्यसपछि उनीहरुले माघ १८ गते हिन्दी भाषामा म्यासेज लेखेर धम्की दिएर रकम माग गरेका थिए । माघ २० गते दर्जी र क्षेत्री दुवै सच्याई केन्द्रमा पुगेर घटनाको असरबारे बुझेका थिए । माघ २३ गते पनि उनीहरु केन्द्रमा पुगेर आधा घण्टा बसी फर्किएका थिए ।

उनीहरुको डेराबाट बरामद गरेका कागजहरुमा ३० जना प्रतिष्ठित व्यक्तित्वको नाम लेखेको पाइएको प्रहरीले जनाएको छ । बरामद कागजमा बिग मनि बिग टार्गेट, किड्न्याप, फिरौती, सर्ट आउट, प्रोटेसन मनी, रिच किड्मा नेता, व्यापारी, गुण्डा, भूमाफिया, औद्योगिक माफिया, मेडिकल माफिया, मेनपावर माफिया लेखिएको पाइएको छ ।

यस्तै, वीक प्याइन्टमा गणतन्त्र, राजतन्त्र, धर्म निपेक्षता र हिन्दूराष्ट्र पनि लेखेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट भरुवा बन्दुकमा लाग्ने केप २७ थान, खुकुरी, नेपाली भारतीय सिमकार्डहरु, चार थान मोवाइल, रन्दा मेसिन, ग्लेण्डर मसिन, हेक्सा व्लेड, पेन्चिस, ५ सय ७२ ग्राम गाजालगायतका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध लागूऔषध गाजासम्बन्धी, हातहतियार तथा खरखजनासम्बन्धी र आपराधिक लाभ एक्सटर्सनसम्बन्धी तीन वटा मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया