लम्की, असार १६
कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मनेबित्तिकै बैंकखाता खोलिदिने गरेको छ । नगरपालिकाले सुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मनेबित्तिकै बैंकखाता खोली वार्षिक एक हजार खातामा जम्मा गरिदिने गरेको छ ।
नगरपालिकाले यस वर्ष एक सय ९० जना छोरीको कृषि विकास बैंकमा खाता खोलिदिएको छ । नगरपालिकाले बालविवाह अन्त्यका लागि यो अभियान सुरु गरेको हो । यसरी खाता खोल्न आउने अभिभावकलाई नगरपालिकाले बालविवाहका असर, बालविवाहविरुद्ध भएको कानुनी व्यवस्था, अहिले टीकापुरको अवस्थाबारे जानकारी समेत दिने गरेको छ ।
गत वैशाख ११ गते टीकापुर अस्पतालमा टीकापुर–३ की झरना विककी छोरी जन्मिइन् । छोरी जन्मिएपछि अस्पतालका स्वास्थ्यकर्मीले नगरपालिकामा जन्मदर्ता गरेमा बैंक खाता खोलिने जानकारी दिए । ‘मलाई थाहै थिएन, छोरीको न्वारनपछि नगरपालिका गयौँ, त्यही दिन जन्मदर्ता गरियो, सिफारिस लिएर बैंक गएपछि खाता खोलियो’, झरनाले भनिन्, ‘छोरी जन्मनेबित्तिकै छोरीको बैंक खाता, म त निकै खुशी भएँ । हाम्रा पालामा त छोरी जन्मे आमालाई समेत हेला गर्थे, अहिले त सरकार नै रकम दिन्छ ।’
‘बालविवाह समाजमा अभ्यासका रूपमा विकास भएको देखियो, यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पार्छ’, महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख संगीता शाहले भनिन्, ‘नगरपालिकाको उद्देश्य बालविवाह रोक्नुका साथै छोरीप्रति गर्व गर्ने वातावरण बनाउने पनि हो ।’
नगरपालिकाले आगामी वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरपालिकाले छोरीको खातामा हरेक वर्ष एक हजारका दरले २० वर्षसम्म रकम जम्मा गर्नेछ । बीस वर्ष पूरा भएको छोरीलाई एकमुष्ट २० हजार रूपैँया उपलब्ध गराइनेछ । ‘यो रकम २० वर्षअगावै विवाह गर्ने छोरीलाई भने दिइने छैन’, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘यो कार्यक्रमको एउटै उद्देश्य बालविवाह अन्त्य गर्ने हो । त्यसका साथै छोरीको महत्व बुझाउने प्रयास पनि हो ।’ नगरप्रमुख रावलका अनुसार यो कार्यक्रमले समयमै घटना दर्ता गर्नतर्फ पनि अभिभावक सचेत हुनेछन् । टीकापुर अस्पतालको तथ्यांक हेर्दा अहिले पनि १७ प्रतिशत किशोरी आमाहरू छन् । ‘
बालविवाह गर्नेको संख्या त अझ बढी होला, त्यसकारण यो कार्यक्रम अघि सारेका हौँ’, नगर प्रमुख रावल भन्छन् , ‘जन्मदर्ता बन्छ, छोरी र नगरपालिकाको नाममा संयुक्त खाता खोलिन्छ । बीस वर्षपछि विवाह गर्ने छोरीलाई मात्र एकमुष्ट २० हजार नगरपालिकाले दिनेछ ।’ आजभोलि छोरी जन्मनेबित्तिकै अभिभावक जन्मदर्ता गर्न आउन थालेका थालेको महिला शाखा प्रमुख शाहले बताइन् । ‘विगतमा आवश्यक परे मात्रै जन्मदर्ता गर्ने चलन थियो, यो कार्यक्रमले समयमै घटना दर्ता गर्ने बानीको समेत विकास भएको छ’, उनले भनिन् ।
दिगो विकास लक्ष्यमा सन् २०३० सम्ममा राष्ट्रिय परिभाषाअनुसार गरिबी र यसका सबै आयाममा बाँचिरहेका पुरुष, महिला तथा सबै उमेरका बालबालिकाको अनुपात कम्तीमा आधाले घटाउने भनिएको छ । त्यो लक्ष्य पूरा गर्नका लागि टीकापुर नगरपालिकाले चलाएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमले सहयोग पुग्ने उपप्रमुख केशरी विष्टको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया