Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालगञ्ज–पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित

नेपालगञ्ज–पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित


बाँके। निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगञ्ज–पोखरा र पोखरा–नेपालगञ्ज सुरु गरिएको उडान सेवा नियमित भएपछि यहाँका निजी क्षेत्र र पर्यटन व्यवसायी उत्साहित भएका छन् । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले दुई महिनाअघि सुरु गरिएको नेपालगञ्ज–पोखरा हवाइ उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान संख्या थप गरिँदै लगिएको हो ।

लामो समयदेखि नेपालगञ्ज–पोखरा सिधा उडान गर्नुपर्ने विषयमा व्यापक रुपमा छलफल, बहस हुँदै आए पनि यसअघि कुनै पनि हवाइ कम्पनीले आफ्नो व्यावसायिक उडान थालेका थिएनन् । उक्त मुद्दालाई अगाडि सार्दै आएको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले सरकार र हवाइ कम्पनीलाई दबाब दिनकै लागि गत फागुनमा उक्त रुटमा चार्टर उडान सुरु गरेको थियो । सीता एअरको १८ सिटे जहाजबाट सुरु गरिएको चार्टर्ड उडानलाई कोरोना भाइरस महामारीको दोस्रो लहरले असर ग-यो र बीचमै बन्द भयो । दुई वर्षअघि पनि बुद्ध र यती एयरलाइन्सले नेपालगञ्ज–पोखरा उडान थाल्ने तयारी गरेका थिए तर विभिन्न कारण देखाउँदै अन्तिममा स्थगित गरेका थिए । पर्यटन व्यवसायीको चर्को दबाब, यात्रुको मागका आधारमा अहिले बुद्ध एयरले उक्त रुटमा व्यावसायिक उडान सुरु गरेको छ ।

कम्पनीको १९ सिटे जहाजबाट तत्कालका लागि हरेक अहप्ताको आइतबार, बुधबार र शुक्रबार उडान सुरु गरिए पनि गत आइतबारदेखि दैनिक रुपमा उडान थालेको बुद्ध एयरका नेपालगञ्ज स्टेसन प्रमुख विनित शाहले बताए । नेपालगञ्ज–पोखरा रुटमा यात्रुलाई आकर्षण गर्न विभिन्न प्याकेज पनि ल्याइएको उनको भनाइ छ । कोरोना महामारी कम हुँदै गएपछि उडान र ठूलो जहाज सञ्चालन गर्ने प्रमुख शाहले सुनाए ।

कोरोनाको यो महामारीमा पनि आन्तरिक हवाइ यात्रु पर्याप्त बढेको एयरलाइन्स पदाधिकारी बताउँछन् । कोरोनाको संक्रमणको त्रासले पनि अहिले जसोतसो हवाइजहाजमा यात्रा गर्न यात्रु तयार भएका छन् । अहिले नेपालगञ्ज उडानमा भने बुद्धले सोचेभन्दा बढी सफलता हात पारेको उनको भनाइ छ । यहाँका पर्यटन व्यवसायीले नेपालगञ्ज र पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल नेपालगञ्ज–पोखरा रुटमा यात्रुको चाप धेरै भएको बताए । सो रुटमा यसअघि निजीस्तरबाट नाटा बाँके च्याप्टरले चार्टर्ड उडान गरेको स्मरण गर्दै आफूहरुले थालेको अभियानलाई साथ दिँदै बुद्ध एयरले व्यावसायिक उडान सुरु गरेको जानकारी दिए ।

रारा, कैलाश मानसरोवर, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुञ्जलगायत पश्चिम क्षेत्रका पर्यटकीयस्थल घुम्नका लागि आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्जमा आधा दर्जन बढी तारे होटल सञ्चालनमा छन् । नेपालगञ्ज नाका हुँदै आउने भारतीय पर्यटक यस क्षेत्रमा घुमेर पोखरा जान र पोखराबाट पर्यटक सिधै नेपालगञ्ज आउन चाहन्थे, त्यसका लागि यसअघि सिधा हवाइ उडान नै थिएन । सिधा हवाइ उडानका लागि विगतमा जनप्रतिनिधि, पर्यटन व्यवसायी, ट्राभल एजेन्सीलगायतले पहल थाले पनि सरकार र विमान कम्पनीको बेवास्ताका कारण उक्त मुद्दा अधूरै थियो ।

सिधा हवाइ उडान नहुँदा पर्यटकलाई आर्थिक भार पर्नुका साथै झन्झटिलो हुने हुँदा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रले व्यहोर्नुपरिरहेको र अब पश्चिम क्षेत्रका थुप्रै पर्यटकीयस्थलको प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । मुलुकको अग्रणी विमान कम्पनी बुद्ध एयरले पहिलो पटक व्यावसायिक उडान थालेपछि भने हवाइ यात्रु, होटल व्यवसायी, पर्यटन व्यवसायी हर्षित भएका छन् । विभिन्न सरोकारवाला निकायले आइतबार पहिलो उडानमा पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगञ्जबाट पोखरा उडेका यात्रुलाई भव्य रुपले विदाइ गरेका थिए ।

उक्त रुटका यात्रुले धमाधम टिकट बुकिङ गरिरहेको कम्पनीले जनाएको छ । नेपालगञ्ज–पोखरा उडानमा प्रतिव्यक्ति भाडा चार हजार नौ सय ९५ रुपैयाँ, पाँच हजार पाँच सय ६५ रुपैयाँ र सात हजार छ सय ६५ रुपैयाँ तोकिएको छ । यसका साथै नेपालगञ्जबाट पोखरा घुम्न जाने पर्यटकका लागि आउनेजाने भाडा, दुई रात बास, नास्ता र विमास्थल–होटलसम्म यातायातको व्यवस्थासहित ११ हजार रुपैयाँ र पोखराबाट बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सोही सुविधासहित १३ हजार नौ सय रुपैयाँ प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया