कोरोनाले नाम्चेका होटल बन्द, कर्जा तिर्नेतर्फ व्यवसायीको चिन्ता
महेन्द्र शाही
सोलुखुम्बु, चैत ९
सोलुखुम्बुको नाम्चे क्षेत्रमा रहेका ४० वटा सबै होटल बन्द भएपछि त्यहाँ कार्यरत करिब तीन सय मजदुर घर फर्केका छन् । अधिकांश मजदुर यो सिजनका लागि २० दिनदेखि त्यस क्षेत्रमा पुगेका थिए । सोलुखुम्बुसहित काभ्रे, नुवाकोटलगायतबाट खुम्बु क्षेत्रमा रोजगारीको लागि आएकाहरु कोरोनाका कारण घर फर्किएका हुन् ।
होटल सञ्चालकका अनुसार उनीहरुले २५ देखि ५० हजारसम्म मासिक तलब लिने गरेका थिए । सिजनको समयमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउनु बाध्य भएको होटल हिलटेनका सञ्चालक ईश्वरराज तामाङको भनाइ छ । तामाङका अनुसार हिलटेनमा काम गर्ने २९ जना मजदुर शनिबार घर फर्किएका छन् । होटल व्यवसायमा ८५ प्रतिशतले गिरावट आएपछि उनीहरुलाई फर्काउनुपर्ने बाध्यता भएको होटल सञ्चालकको भनाइ छ । त्यहाँ काम गर्ने ८० प्रतिशत कामदार खुम्बुबाहिरको भएकाले कुनै पनि स्वास्थ्य समस्या आएमा तत्काल उपचार गराउने अस्पताल र उद्धारका लागि भरपर्दो माध्यम नभएकाले होटल नै बन्द गरेर फिर्ता पठाउनुपरेको ग्रिनतारा होटलका सञ्चालक एवम् नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाको भनाइ छ ।
अहिले होटल रुङ्नेबाहेक कोही पनि नभएको उनको भनाइ छ । जिल्लाभन्दा बाहिरका ४० प्रतिशत कामदार खुम्बु क्षेत्र पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । विश्वको सर्वोच्च शिखर सगरमाथा भएको खुम्बु क्षेत्रमा हजारौँ पर्यटकको आवगमन हुने भएपछि व्यवसायीले राम्रै लगानी गरेर होटल पसल सञ्चालन गरेका छन् । खुम्बु क्षेत्रका ६० प्रतिशत होटल सञ्चालकले विभिन्न बैंकबाट कर्जा लिएका छन् भने केही व्यवसायीले घर भाडामा लिएर होटल सञ्चालन गरिरहेका छन् । नाम्चेका ४० वटा होटलमध्ये ६ वटा होटल भाडामा सञ्चालित छन् । आफूहरुले वार्षिक १५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म भाडा बुझाउने गरेको होटल हिलटेनका सञ्चालक तामाङले बताए ।
ग्रिनतारा होटलका सञ्चालक एवम् नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाका अनुसार यहाँका व्यवसायीले कुमारी, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकबाट करोडौँ कर्जा लिएर व्यवसाय सञ्चालन गरेका छन् । कर्जा लिनेहरुले सिजनमा कमाएको नाफाबाट मासिक १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म ब्याज मात्र तिर्नुपर्ने होटल सञ्चालक लामाकाजी शेर्पाको भनाइ छ । अहिले कोरानाका कारण व्यापार चौपट भएकाले व्यवसायीमा कर्जा कसरी तिर्ने भन्ने चिन्ता बढेको छ ।
अन्य आम्दानीको स्रोत नभएका यस क्षेत्रका नागरिकले महाभूकम्प, भारतले गरेको अघोषित नाकाबन्दीभन्दा पनि कोरोना भाइरसको संक्रमणले बढी क्षति प-याएको छ । कोरोनाले पर्यटन क्षेत्रमा असर पु-याएको भन्दै खुम्बु क्षेत्रका व्यवसायी चिन्तित बनेका छन् । सिजनको आम्दानीले बाह्रै महिना धान्नुपर्ने भएकाले व्यवसायी बढी मारमा परेको नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाको भनाइ छ । शेर्पाले भने, ‘नाफाको कुरा छाडौँ, बैंकको किस्ता तिर्ने र व्यवसाय कसरी धान्ने भन्ने चिन्ताले सताउनथालेको छ ।’
व्यवसाय सञ्चालन गरेपछि राज्यलाई विभिन्न शीर्षकमा कर बुझाउँदै आएका खुम्बुका व्यवसायीले अहिले सहयोगको याचना गरेका छन् । नाम्चे लज एण्ड होटल एसोसिएसनका उपाध्यक्ष निमाडोमा शेर्पाले गाउँपालिकादेखि नेपाल सरकारलाई समेत राजस्व बुझाउनुपर्दा यो वर्ष समस्या हुने भएकाले विशेष निर्णय गरी व्यवसायीलाई सहयोग गर्न सरकारसमक्ष आग्रह समेत गरिन् ।
कोरोना संक्रमणले थलिएको व्यवसाय उठाउन दश वर्षभन्दा बढी समय लाग्ने अनुमान गर्दै उनले यस परिस्थितिमा सरकारको सहयोग अपरिहार्य रहने उनको भनाइ छ । यो सिजनमा खुम्बु क्षेत्रका होटल पसल भरिभराउ हुने भए पनि अहिले सुनसान देखिएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्ला समेत पर्यटक आवगमनले भरिभराउ हुने भए पनि अहिले सुनसान देखिएको त्यहाँका कर्मचारी बताउँछन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया