Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व महामारी कोरोनाभाइरस (कोभिड–१९) :

विश्व महामारी कोरोनाभाइरस (कोभिड–१९) :


जेनेभा, चैत १०
महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । संक्रमित व्यक्तिमध्ये ९५ हजार ८ सय २९ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

हाल कोरोनाभाइरसका कारण अत्यन्त भयावह अवस्थाको सामना गरिरहेको इटालीमा चार हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । शनिबार एकै दिन इटालीमा ७९३ जनाको मृत्यु भएको थियो । हाल ४२ हजार ६ सय ८१ जना संक्रमित रहेको इटालीमा ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले शनिबार राति टेलिभिजनबाट सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै कलकारखाना बन्द गर्न आदेश दिएका छन् । करिब ६ करोड जनसंख्या रहेको इटालीमा कोरोनाभाइरसका कारण अहिले युरोपमै सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाभाइरस संक्रमणबाट चीनभर तीन हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार जना संक्रमित भएका थिए । तर चीनमा ७२ हजार ४ सय ४० जना निको भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी वुहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

मध्यपूर्वका राष्ट्रमध्ये इरानमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ५ सय ५६ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय १५ जना संक्रमित रहेका छन् । सात हजार ६ सय जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोनाभाइरसको संक्रमणका कारण एक हजार ३८१ जनाको मृत्यु भएको छ । हाल २१ हजार ९ सय ९० जना संक्रमित रहेका छन् । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार संक्रमित रहेका छन् ।

संयुक्तराज्य अमेरिकामा ३ सय ४८ जनाको मृत्यु भएको छ । हाल अमेरिकामा २६ हजार संक्रमित रहेका छन् भने १ सय ७८ जनाको उपचार गरिएको छ । फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ । हाल १२ हजार ३ सयभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय ४ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ८८४ जनामा अझै पनि संक्रमण छ ।

कोरोनाभाइरस संक्रमणका कारण स्विट्जरल्याण्डमा ८० जना, बेलायतमा २ सय ३३ जना, नेदरल्याण्ड्समा १ सय ३६ जना, बेल्जियममा ६७ जना र जापानमा ३६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा ३ सय ३२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । छ जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन जनता कफ्र्यु लागू गर्न र घरबाहिर ननिस्किन आह्वान गरेको छ ।

दक्षिण एसियाली अन्य मुलुक श्रीलंकामा ७७, अफगानिस्तानमा २४, बंगलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा दुई जना संक्रमित देखिएका छन् । विश्वका ३५ देशमा महामारी रोकथामका लागि भन्दै लकडाउन घोषणा गरिएको छ । एक अनुमान अनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् । कोरानाभाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् । (रासस/एएफपी) 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया