Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती


काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानीजस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले इभेन्ट टिकेटिङदेखि सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ । सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आप्mनो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

निकै कम समयमा पनि नेपालको डिजिटल कारोबारको करिब एक चौथाइ ओगट्न सफल खल्तीले दैनिक करिब तीन लाख वटाभन्दा बढी कारोबारद्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजीवन सहज बनाइरहेको छ भने एक लाखभन्दा बढी साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्षरूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भइरहेका छन् । आफ्नो स्थापनाको छोटो अवधिमा नै खल्तीले करिब ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, एक लाखभन्दा धेरै एजेन्ट, ६० हजारभन्दा धेरै मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था र १५ सयभन्दा धेरै सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको छ ।

खल्तीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ प्रमाणीकरण गरेको छ भने हालै मात्र देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि सम्मानित भएको छ । खल्ती आफ्नो सातौँ वर्षमा प्रवेश गर्दै एक डिजिटल वालेट मात्र नभई ‘योङ एन्ड ट्रेन्डी फाइनान्सिएल लाइफस्टाइल ब्रान्ड’ बन्दै युवा पुस्तालाई लक्षित गर्दैअघि बढिरहेको छ । यसका लागि खल्तीले भुक्तानीबाहेकका विभिन्न नवीन सेवाजस्तै खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, ‘खल्ती प्रो’, ‘खल्ती क्लब’जस्तै सेवाहरू उपलब्ध गर्दै आइरहेको छ । आगामी दिनमा पनि आफ्नो लगानी नवीन सेवा र सुविधा उपलब्ध गराउन प्रयोग गर्ने कुरा बताएको छ ।

यसको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्का भन्छन्, ‘सुरुवाती चरणदेखि नै खल्ती सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ अघि बढाएको छ । आजको दिन सात वर्षको यात्रासम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको हाम्रो यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्थासम्म पु¥याउन सफल भएका छौँ । हामीले निजी क्षेत्र साथसाथै सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराएका छौँ । अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सियल लाइफस्टाइल ब्रान्डको रूपमा स्थापित गर्ने भएकाले हामी त्यसै अनुरूप खल्तीलाई भुक्तानी मात्र नभई लगानी तथा आफ्नो वित्तीय व्यवस्थापन गर्ने प्लेटफार्मको रूपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थपी आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ ।’

सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ १२ गते देखि माघ १८ गतेसम्म सात दिनको अवधिभर पहिलो बैंक लिंक भुक्तानीमा प्रयोगकर्तालाई ७७ रुपैयाँको क्यासब्याकको अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ ।

यसअनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राइट स्वाइप गरी तोकिएको शीर्षकअनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तैः खल्ती ब्यालेन्स, खल्ती पोइन्ट, कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्ने बताइएको छ । ‘खल्ती जर्नी’ मा एकदेखि सात वर्षको शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोहीअनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् । भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भोटिङ, दामी क्युआर र फ्रि विथ ड्र बैंक खाता सेटअपजस्ता खल्ती विशेष इनोभेसनहरूको चरण पार गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया