Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको नयाँ आरटीआर १६० मोटरसाइकल सार्वजनिक

टीभीएसको नयाँ आरटीआर १६० मोटरसाइकल सार्वजनिक


काठमाडौं ।
टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० सार्वजनिक गरेको छ । कम्पनीले अपाचे आरटीआर १६० फोरभीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गरेको हो ।

टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्रीवितरण हुँदै आएको कम्पनीको दाबी छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबीएस थप भएर आएको हो । योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोरभी ग्राहकले खरिद गर्न सक्नेछन् ।

नयाँ मोटरसाइकल सार्वजनिक गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले ग्राहकको चाहना र बजेटअनुसारको मोटरसाइकल ल्याएका बताए । १६० फोरभीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोरभी ‘पावर टु वेट रेसियो’मा टप स्पिड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीका अनुसार चालकले आफ्नो मोबाइलमा एपमार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्नेछन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोबाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिनेछ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहनेछ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ ।

यो विशेषतः रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो । साथै, चालकले यसमा टप स्पिड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्नेछन् । चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पिड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिँदा उक्त टप स्पिड डिस्प्लेमा देखिनेछ । यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पिड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ । त्यसैगरी नयाँ आरटीआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटरजस्ता फिचर रहेको छ ।

यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेसन, कल अलर्ट मोड उपलब्ध रहेको छ । यस्तै यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दूरी, प्रयोग गरेको रुटलगायतका धेरै सूचना राख्न मद्दत गर्छ । यस्तै सर्ट राइड मोडमा एक पटक इग्निसन अफ गर्दासम्मको सूचना यसले राख्छ । मोबाइलमार्फत टर्न वाइ टर्न नेभिगेसन प्रयोग गर्न सकिन्छ । स्मार्ट कनेक्टमार्फत मोबाइलमा आएको म्यासेज तथा कल कन्सोलमा देख्न सकिन्छ ।

कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्र्यास अलर्ट फिचर दिएको छ । कुनै पनि अवस्थामा मोटरसाइकल दुर्घटनामा पर्दा उक्त फिचरमार्फत लोकेसनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेसन जान्छ । यसका साथै नजिकको अस्पतालको लोकेसन समेत यसमा देखिनेछ । यस्तै यो मोटरसाइकलको ह्यान्डलबार को वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आई साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दबाएर नजिक रहेको पेट्रोल पम्पको लोकेसन पाउन सकिन्छ ।

कम्पनीका अनुसार सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबीएस र स्मार्ट कनेक्ट सहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ । त्यसैगरि नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ ।

यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९ सय रुपैयाँ तोकिएको छ । जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल सोमबारदेखी नै बिक्रीको लागि राखिएको जनाएको छ । विभिन्न ५ भेरियन्टमा उपलब्ध यी मोटरसाइकल ग्राहकले देशको कुनैपनि क्षेत्रबाट खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया