Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमको पहिलो त्रैमासिक नाफा २ अर्ब २५ करोड

नेपाल टेलिकमको पहिलो त्रैमासिक नाफा २ अर्ब २५ करोड


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा दुई अर्ब २५ करोड ९९ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले साउनदेखि असोज मसान्तसम्ममा उक्त नाफा कमाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । कम्पनीले गत आवको तुलनामा चालू आवमा ४८ दशमलव ९० प्रतिशतले नाफा वृद्धि गरेको हो । यस्तै कम्पनीको सञ्चालन आयमा पनि गत वर्षको तुलनामा १३.२ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको चालू आवको पहिलो त्रैमासिकको आय नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आय आठ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेको थियो । यसैगरी कम्पनीको कुल आयमा पनि वृद्धि भएको छ । कम्पनीको गत आवको प्रथम त्रैमासिकको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा आठ दशमलव ३९ प्रतिशतले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यस्तै गत आवको प्रथम त्रैमासिकमा तीन अर्ब ९७ करोड चार लाख ९१ हजार रुपैयाँ रहेको ईबीआईटीडीए पनि चालू आवको सोही अवधिमा ८४ करोड ४९ लाख ५७ हजार रुपैयाँले वृद्धि भई चार अर्ब ८१ करोड ५४ लाख ४८ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको कारण कम्पनीको आर्थिक अवस्थामा सुधार भएको कम्पनीले जनाएको छ । यसैगरी टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत फोरजीसहित उक्त सेवाको पहुँच विस्तार गरिएको, कम्पनीको एफटीटीएच सेवामार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटिभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

कोभिडको महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालू आवको सुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको, कोभिडलक्षित डाटा प्याकेजका कारण सेवा उपयोगमा वृद्धि भएको कारणले पनि आर्थिक सुधार भएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया