Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा


काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुको लागि पाँच लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरिदिएको छ । कम्पनीले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम गरी उनीहरुको लागि दुर्घटना बीमा गरिदिएको हो ।

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै सहभागी निर्माणकर्मीहरुको बीमा पोलिसी समेत हस्तान्तरण गरेको थियो । दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

पहिलो चरणअन्तर्गत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधि बताएका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायीलगायतको उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ । योसँगै शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ र ९८०१५७५५७५ मा सम्पर्क गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया