Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालका जाति, भाषा र संस्कृति – ३२

नेपालका जाति, भाषा र संस्कृति – ३२


शिरिष अर्ज्याल
नेपालका बहुसंख्यक जातिहरुमध्ये केवट वा केवर्ट जाति तराईका एक प्रमुख जाति हुन् । यी जाति सुरूका दिनदेखि नै कृषिकार्यमा संलग्न रहँदै आएका जाति हुन् । आर्यमूलका तराईका पछाडि परेका जातिका रूपमा गणना गरिएको छ । कृषिकर्म कृषि उत्पादन र कुषिजन्य वस्तुको बेचबिखनलाई नै आफ्नो परम्परागत पेसा बनाई अघि बढिरहेका देखिन्छन् ।

हिन्दूधर्मको जातीय प्रथामा सुरूका दिनमा ब्राह्मणहरुद्वारा ब्राह्मण ग्रन्थको उत्पत्ति गरेपश्चात् केवर्ट वर्गलाई शुद्ध जातिका रूपमा राखियो । तराई क्षेत्रमा प्राचीनकालदेखि बसोबास गर्दै आएका यी जातिबारे हिन्दू धर्मग्रन्थहरु रामायण र महाभारतमा पनि प्रसंग उल्लेख गरिएका छन् । भगवान श्रीरामले सबरीको जुठो बयर खाएको तथा मल्हार जातिका व्यक्तिले श्रीरामलाई सहयोग गरी नाउँबाट नदी तारिएको जस्ता घटनाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने उक्तिको स्मरण गराउँछ । हिन्दू आर्यजातिका मानिसहरुबारे अध्ययन गरेका विदेशी विद्वान् ‘फ्रान्सिस बुकानन’ केवट वा किओटबारे उल्लेख गर्दै लेखेका छन्, ‘केवर्तलाई आसाममा ब्राह्मण र बंगालमा व्यासको दर्जा प्राप्त थियो ।’

नेपालमा यी जातिलाई खेती किसानी गर्ने जाति भनी उत्तिको महत्व नदिँदै आइएकामा शिक्षा, चेतना, सम्भावनाको जागरूकताले सम्मान बढाउँदै गरेको देखिन्छ । केवर्तहरुमा गखाइत, सद्या, द्यिमा र बहिकियोट गरी चार उपजाति वा समूह रहेका छन् भने यसमध्ये पनि सद्याको संख्या बढी रहेको हामी पाउँछौँ । केवर्त जातिका मानिसहरुको बसोबास नेपालको पूर्वी तराईका प्रायश सम्पूर्ण जिल्लाहरु झापादेखि पर्सासम्म पाइन्छ । देवी माता काली, गाहिल र गौरया केवर्त जातिका मुख्य कुल देवता हुन् भने केवर्त जातिले अन्य हिन्दू जातिहरुले झैँ चाड पर्व मनाउने गर्छन् । बालीनाली खेतीसम्बन्धी केही पूजा भने विशेष किसिमको हुने गर्छ ।
तराईका अन्य दलित जाति :
दुसाद्य जाति :- दुसाद्य जाति तराई क्षेत्रमा सदियौँदेखि बस्दै आइरहेका छन् । दुसाद्य जातिलाई तराईका दलित जाति भनी वर्गीकरण गरिएकोमा त्यसो नगरी नेपालका दलित जाति भनी आरक्षण दिइनु उपयुक्त होला । दलित एवं आरक्षित जातिमा सूचीकृत गर्दा धेरै क्षेत्रहरुमा पछाडि पर्न गएको यस जातिप्रति न्याय ठहरिनेछ ।

नेपालको संविधान (२०६३) ले समेत विभेद गरेको यस जातिले आफ्ना हक अधिकारहरुलाई सुनिश्चित गराउन अझै निकै गाह्रो संघर्ष गर्नुपर्ने देखिन्छ । दुसाद्य जातिका मानिसको तराईमा पहिला निकै जग्गा जमिन रहेकामा राणा शासकहरुले उनीहरुका पुर्खाको जग्गा जमिन खोसिएको कुरा उनीहरु बताउँछन् । भारत वर्ष वा आर्यवर्तमा हिजोआज प्रचलित दलित शब्दलाई शुद्र जाति वा ब्राह्मण तथा क्षेत्रीयहरुको सेवा कार्य गर्ने जाति भन्ने वर्गमा राखिएको थियो भने नेपालमा पनि १९१० को मुलुकी ऐनमा पानी नचल्ने छोइछिटो हाल्नुपर्नेजस्ता अमानवीय विभेदकारी परम्परा बसालियो ।

तराईका दलित जाति भनी वर्गीकृत दुसाद्य जातिले आफ्ना मूल पुरुष सहलेसलाई मान्दछन् भने यसका साथै सम्पूर्ण हिन्दू देवी देवतालाई मान्ने तथा पुज्ने कार्य गर्छन् । विशेषतः भगवान् सहलेस, भगवती, कालीबन्दी, सत्यनारायण, महामाया, भगवान विष्णु, गणेशको पूजाआजा गर्ने गर्छन् । दुसाद्यलाई पासवान वा पासी समेत भन्ने गरिन्छ । पासवान थरमा भारतमा दलित नेता तथा पूर्वकेन्द्रीय मन्त्री रामविलास पासवान प्रसिद्ध रहेका छन् ।

वि.सं. २०६८ जनगणनाअनुसार दुसाद्य वा पासवान जातिको जनसंख्या नेपाल २० हजार ९ सय १० रहेको देखाइएको छ । दुसाद्य जातिको प्राचीनतम स्थान वा सम्बन्ध नेपालको सिरहा जिल्लाको पकडिहानका राजा कुलहेश्वरको दरबारसँग रहेको छ । यी जाति दरबारमा चौकीदारी, सैनिक, वीर, पराक्रमीका रुपमा परिचित रहेका थिए । यसैगरी सहलेसले नुहाउने गरेका माणिक दह, कुस्ती खेल्ने अखडा पूजापाठ गर्ने ठाउँ, आदिलाई अद्यापि सहलेस बाग वा फूलबारी भनी सम्बोधन गर्ने गरिन्छ । पासवान वा दुसाद्य जातिले मात्र होइन अन्य हिन्दू सम्प्रदायले समेत सहलेस महाराजको पूजा गर्ने गर्छन् ।

सहलेस महाराजको पूजा सालको प्रथम दिन अर्थात् वि.सं.को वैशाख १ गते सहलेस बागमा धुमधामका साथ मनाउने गरिन्छ । यसै दिन अर्थात् वैशाख १ गते दुसाद्य जातिले सहलेस महाराजको लोककथामा आधारित गीत गाएर नृत्य समेत प्रस्तुत गर्ने गरिन्छ । यसैगरी सिरहा जिल्लाको सहलेस थान भन्ने स्थानमा पनि पूजा आजा तथा कार्यक्रम गर्ने गरिन्छ । प्राचीनकालमा यी क्षेत्रहरु वीर र पौरखी दुसाद्य जातिको राज्य थियो भन्ने विश्वास दुसाद्य जातिमा रहेको पाइन्छ । गोलो, दत्रीलगायत यी जातिका मानिसहरुले विशेषगरी दुसाद्य, पासवान वा हजरा थर लेखाउने गर्छन् भने उनीहरुका परम्परागत पेसा कृषिकर्म तथा ताडी संकलन गर्नु भए पनि मजदुरी गर्नु, काठ मिस्त्रीका कार्यहरु गर्नु यसै गरी विभिन्न कलकारखानामा मजदुरी तथा सृजनात्मक कार्यहरुमा सहयोग गर्नु यसका साथै हिजोआज पढेलेखेका दुसाद्यहरु प्रशासनिक तथा अन्य क्षेत्रमा समेत देखिन्छन् ।

दुसाद्यहरुको प्राचीन थलो वर्तमान नेपालको सिरहा जिल्लालगायत भारतको विहार राज्यको सिरहा जिल्लासँग जोडिएका भूभागहरुलाई मानिएको छ भने नेपालको वर्तमान सिरहा जिल्लाको मसाउथागढ भन्ने ठाउँलाई आजभन्दा करिब २५ सय वर्षअघि राजधानी रहेको कुरा मानिँदै आइएको छ, जहाँ राजा सहलेस राजधानीमा शासन सञ्चालन गर्दथे ।

दुसाद्य जातिका पासवानहरुमा कमुर, कुर्ना, मघैया सुर जहार र पालिवार गरी पाँच पासीहरु रहेका हुन्छन् । पाँच प्रकारमा उपजात वा वर्गीकृत गरिएका दुसाद्यहरुका पनि आ—आफ्नै पुर्खाहरु रहेको दुसाद्य मानिसहरु बताउने गर्छन् । विगत कालमा आमाबाबुको हेरविचार गर्ने दुसाद्यहरु कमुर कहलिए भने आमाबुबालाई नहेर्नेका सन्तान कुर्ना कहलिए । यस्तै आमाबुबाका डरले मघबाट भागेर गएकाका सन्तान मघैया र आमाबाबुलाई भन्दा आफ्ना सन्तानलाई मात्र ध्यान दिनेका सन्तानहरु पालिवार कहलिए । दुुसाद्य जातिमा सामाजिक कर्महरुमा मुख्यगरी जन्म, छठियार, न्वारान, अन्नप्राशन, चूडाकर्म, विवाह र मृत्युसंस्कारहरु पर्छन् । बालक जन्मेको छ दिनसम्म छुट्टै कोठामा राखिन्छ भने छैठौँ दिनमा शुद्ध गरी छठिहार मनाइन्छ । छठियारपश्चात् उसै दिन न्वारान गर्ने गरिन्छ । अन्नप्राशन अन्य हिन्दू जातिले झैँ कसैकसैले चूडाकर्म पनि गर्ने गर्छन् ।

विवाहका अघि केटी र केटा पक्षकाले मञ्जुरी दिएपश्चात् विवाहको मिति तय गरिन्छ । विवाहमा जन्ती जाँदा बेहुलाले परम्परागत सेतो फेटा लगाउने गर्छन् । हिन्दू परम्पराअनुसार ब्राह्मणद्वारा मन्त्रोच्चारण गरी विवाह सम्पन्न गर्ने गरिन्छ । मृत्यु संस्कारमा अन्य तराई मधेशतर्फका हिन्दू जातिले झैँ सम्पन्न गर्ने गर्छन् । दुसाद्य जातिले शवलाई उत्तर दक्षिण पारेर जलाउने गर्छन् भने शवको टाउकोलाई उत्तरतर्फ राख्ने गरिन्छ । बरखी बार्दा प्रायः जेठो छोरो मात्र किरिया बस्छन् भने तेह्रौँ दिनको दिनमा जूठोबाट पूर्ण चोखिने प्रचलन छ । दुसाद्य जातिले अन्य हिन्दू सम्प्रदायका मानिसहरुले झैँ चाडपर्व मान्दै आइरहेका छन् । नेपालमा पिछडिएको दलित जातिमा गनिएका दुसाद्य जातिले आाफूहरुलाई दलितमध्ये उच्च कोटीको दलित भन्न रूचाए पनि दुसाद्य जातिका अधिकांश मानिस आर्थिक, सामाजिक क्षेत्रमा पछाडि पर्न गएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया