Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरातमा क्वारेन्टाइन, दिउँसो काफल खान जङ्गलमा

रातमा क्वारेन्टाइन, दिउँसो काफल खान जङ्गलमा


मदनराज भट्ट
बैतडी, जेठ २०
बैतडी जिल्लामा हाल पाँच हजारभन्दा बढी व्यक्तिहरू क्वारेन्टाइनमा बसिरहेका छन् । उनिहरूमध्ये धेरै व्यक्ति इमान्दार भए पनि केहीलाई सम्हाल्न भने निकै गा-हो भएको छ । गत बिहीबार पाटन–६ की एक महिला झाँक्री हुँ भन्दै क्वारेन्टाइनबाटै काम्दै गाउँ घुमिन्, ‘म सबैलाई बचाउछुँ भन्दै दैडिन्’, उनलाई नियन्त्रणमा लिई पुनः क्वारेन्टाइनमा राखियो । यो कुरालाई जिल्ला स्थित सरोकारवालाहरूले गम्भीररूपमा लिई यस्ता गतिविधि गर्नेलाई घरभन्दा टाढाको करेन्टाइनमा सरुवा गर्ने जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

विभिन्न ठाउँका क्वारेटाइनमा बसेकाहरू दिनमा काफल खान जंगल जाने गरेको गुनासो आएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोसी बताउछन् । ‘दिनभर घरपरिवारसँग बसेर काम गर्ने अनि साझपख परिवारसहित क्वारेन्टाइनमा बस्न जाने गुनासो आइरहेको छ’, प्रजिअ जोशीले भने । जुवातास खेल्ने जस्ता गतिविधिहरू क्वारेन्टाइनमा बसेकाहरूबाट भइरहेको समेत गुनासो आएको उनले बताए । ‘जबसम्म क्वारेन्टाइनको महत्व सबैले बुझ्दैनन्, लकडाउन के हो ? कसका लागि किन गरिएको हो ? यो कुरा बुझ्दैनन् तबसम्म समस्याहरू आउँछ,’ जोशीले भने । क्वारेन्टाइनमा बसेकामध्ये कतिपयले सारेकारवालाहरूको कुरा नसुन्ने गरेको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिक्रमबहादुर चन्दले बताए ।

‘विदेशबाट आएका दाजुभाइहरूलाई कोरोना भाइरसको त्रास महसुस नभएको देखिन्छ । धेरै व्यक्तिहरू क्वारेन्टाइनमा जुवातास खेलेर दिन बिताइरहेका छन् । सामाजिक दूरीको कुनै मतलब गरिएको छैन्, यसबारे जनचेतना फैलाउनु जरुरी छ’, उनले भने । कतिपय ठाउँमा वडा अध्यक्षको पार्टीभन्दा फरक पार्टीका व्यक्तिले उक्साइदिने गरेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् । ‘अर्को क्वारेन्टाइनमा भत्ता बाढ्दै छन्, राम्रो खानेकुरा दिएका छन्, मासुभात खुवाउने गरेका छन् भनेर उक्साइदिन्छन्’, उनले भनिन् । बैतडी जिल्लालाई रेडजोनमा राखी सतर्कता अपनाइए पनि स्थानीयवासीको लापरबाहीका कारण कोरोना भाइरसको अति उच्च जोखिम रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया