Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहेन्द्रनगर र झलारी बजारमा अत्याधुनिक सडक निर्माणको काम सुरु

महेन्द्रनगर र झलारी बजारमा अत्याधुनिक सडक निर्माणको काम सुरु


धनबहादुर जप्रेल
कञ्चनपुर साउन १८
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा कञ्चनपुरका भीमदत्त र शुक्लाफाँटा नगरपालिकाका सडकलाई आधुनिक बनाउने काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सडक सर्भेको काम सुरु गरेको हो । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत निर्माण हुने झलारी–फुलेली सडक, झलारी–पिपलाडी सडक र नगरपालिका कार्यालय जाने सडकलाई आधुनिक सडक बनाउन सर्भेको काम सुरु भएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले बताए । उनका अनुसार आयोजना अन्तर्गत नाली, फुटपातसहितका १२ मिटर चौडा सडक निर्माण गरिने छ ।

‘क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत यस वर्ष ४.७७ किलोमिटर सडक कालोपत्रे गरिन्छ’, उनले भने, ‘आयोजनाले २ वर्षदेखि विकास निर्माणका काम गर्दै आएको छ ।’ क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत वडा तहमा उपभोक्ता समितिमार्फत तटबन्ध, ग्राभिल, क्षमता अभिवृद्धिका तालिम सञ्चालन हुँदै आएको उनले बताए । ‘सहरी विकास आयोजनाको काम शुक्लाफाँटामा २०७४ मा सुरु भएको थियो,’ उनले भने, ‘यो आयोजनाको सहयोगमा वडा तहमा विकास भएको छ ।’ क्षेत्रीय सहरी विकास आयोजनाले शुक्लाफाँटा नगरपालिका कार्यालयको भवन समेत निर्माण गरिरहेको उनि बताउँछन् ।

‘भवन निर्माणको काम गत वर्षदेखि सुरु भएको थियो’, उनले भने, ‘नगरपालिकाका सुविधा सम्पन्न भवन निर्माण गर्ने कार्य तीब्र रुपमा भइरहेको छ ।’ यसैगरी, यसै आर्थिक वर्षदेखि फोहोर व्यवस्थापनको काम समेत सुरु हुने नगर प्रमुख ऐरको भनाइ छ । ‘फोहोर व्यवस्थापनका लागि जग्गा प्राप्त गरिएको छ,’ उनले भने, ‘शुक्लाफाँटा–११ को श्रीकृष्ण सामुदायिक वनमा फोहोर व्यवस्थापन केन्द्र निर्माण हुन्छ, यसैवर्षदेखि निर्माण प्रक्रिया सुरु गर्छौ ।’ भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार क्षेत्रका सडकलाई आधुनिक बनाउन पनि निर्माण कम्पनीले सर्भेको काम सुरु गरेको छ ।

आयोजनाअन्तर्गत महेन्द्रनगर बजारका पाँचवटै गल्लीमा नालीसहितका सडक निर्माण गरिनेछ । यसैगरी, बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्म सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया