Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहामारीका बीच अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

महामारीका बीच अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न


काठमाडौं, भदौ ३१
कोभिड–१९ महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजनाअन्तर्गत तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्ग स्थल, अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

यी चारवटै आयोजनाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा मन्त्री भट्टराईले कोभिड महामारीका बीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणाम स्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए । ‘सङ्क्रमणको जोखिम मोलेर आत्मबल र आत्मविश्वासका साथ निरन्तरताको प्रयासपछि चारवटै आयोजनाको परिणाम आएको छ । विमानस्थलको क्षमता विस्तारका साथै सेवा आधुनिकीकरणको कामलाई आगामी दिनमा पनि जारी राखिनेछ’, उनले भने ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै आन्तरिक हवाइ उडान पनि सञ्चालन गर्ने निर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उनले बताए । ‘अब विमानस्थल छिट्टै पुरानै लयमा फर्किनेछ, विमानस्थलको चहलपहल विस्तारै बाक्लिनेछ’, उनले भने ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए । विमानस्थलको विस्तारको संरचनाले विमानस्थलको चाप कम गर्नुका साथै जहाज आकासमा फन्को लगाउने ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउने बताए । विमानस्थलको सुविधा सम्पन्न भौतिक पूर्वाधार तथा आवागमन तर्फ अत्याधुनिक नयाँ आगमन हलले जो कोही नेपाली ताथ विदेशीलाई आकर्षण गर्नुका साथै विकसित मुलुकको झझल्को दिने उनको भनाइ छ ।

विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाडै काम थालिने जनाइएको छ । समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङ्ग स्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तारलगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया