Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको इ–शिक्षा प्याकेज

टेलिकमको इ–शिक्षा प्याकेज


काठमाडौं, साउन १९
नेपाल टेलिकमले कोभिड १९ महामारीका कारण उब्जिएको विषम परिस्थितिमा सहज र सुलभ रुपले शिक्षा आदान/प्रदान गर्नका लागि इ–शिक्षा प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले गत वैशाख १४ गतेदेखि उक्त प्याकेज कार्यान्वयनमा ल्याएको जनाएको छ । अप्रत्याशित रुपले बिथोलिएको शैक्षिक वातावरणमा विद्यार्थी र शिक्षकलाई पुनः जोड्न यो प्याकेजले सेतुको काम गरेको कम्पनीले जनाएको छ ।

यस प्याकेजको प्रयोग गरी हाल मुलुकभरका ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थी र शिक्षकहरुले अनलाइन कक्षामार्फत नियमित अध्ययन र अध्यापनका क्रियाकलाप सुचारु गरिरहेका छन् । अनलाइन अध्ययनका लागि उपलब्ध विभिन्न प्रकारका एप्लिकेसनहरुमध्ये कम्पनीले विद्यार्थी र शिक्षकमाझ लोकप्रिय रहेका जुनसुकै एप्लिकेसनहरु उपयोग गर्न सकिने गरी पाँच सय रुपैयाँमा १८ जीबी डाटा इ–शिक्षा प्याकेजमार्फत उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

यसैगरि कम्पनीले विद्यालयहरुको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सनल)ले ‘इ–लर्निङको प्याकेज सुविधा सम्बन्धमा’ जारी गरेको परिपत्रप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ । प्याब्सनले कम्पनीलाई कुनै जानकारी नगराई कम्पनीसँगको सकारात्मक छलफल अघि बढिरहेको समयमा गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावलीसहितको परिपत्र साउन १५ गते आफ्नो वेबसाइटमा राखेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्याब्सनले कम्पनीसँग सहकार्य गर्न पत्राचार गरेपश्चात् विभिन्न चरणमा भएको छलफल कम्पनीले उपलब्ध गराइरहेको इ–शिक्षा प्याकेज सम्बन्धी विवरण संगठनले आफ्नो वेबसाइटमा समेत प्रकाशित गरेको थियो । विश्वभरी नै कोभिड १९ को कारणले उब्जिएको विषम परिस्थितिमा मुलुकभर पुन पठनपाठनको वातावरण तयार गर्न कम्पनीले महत्वपूर्ण पहल तथा भूमिका निर्वाह गरिरहेको अवस्थामा सो संगठनसँगको छलफलबमोजिम नै कम्पनीले सेवा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याइसकेको अवस्थामा प्याब्सनले गैरजिम्मेवार रुपले कम्पनीलाई दोषारोपण गर्ने शब्दावली सहितको परिपत्र जारी गरेको कम्पनीको भनाई छ ।

आफूअनुकूल कुनै पनि संस्थासँग सम्झौता गर्ने संगठनको अधिकारप्रति नेपाल टेलिकमको विमती नरहे पनि कम्पनीलाई लक्षित गरी आक्षेपयुक्त भाव झल्किने शब्दावलीको प्रयोग गरेको भन्दै कम्पनीले आपत्ति जनाएको हो । प्याब्सन र एनप्याब्सनले एनसेलसँग अनलाइन कक्षाका लागि सम्झौता गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया