Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालठगी आरोपका व्यवसायी वैदेशिक रोजगार बोर्डको विज्ञमा मनोनीत

ठगी आरोपका व्यवसायी वैदेशिक रोजगार बोर्डको विज्ञमा मनोनीत


काठमाडौँ, असार २४
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार वैदेशिक रोजगार बोर्डमा दुई जना विज्ञलाई मनोनीत गरेको छ । आइतबार श्रममन्त्री रामेश्वर राय यादवले बोर्डमा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङ र स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई विज्ञका रुपमा मनोनीत गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले मन्त्री यादवको निर्देशनमा बोर्डको विज्ञमा खड्का र गुरुङलाई बोर्डमा ल्याउने तयारी गरिएको बताए । म्यानपावर सञ्चालकहरु ठगीलगायतका मुद्दाहरुमा विवादित रहेको पाइएको छ । मन्त्री यादवले बोर्डमा नियुक्त गरेका गुरुङ र खड्का पनि सो मुद्दा चलेका व्यक्ति भएको पाइएको हो । वैदेशिक रोजगारीको क्रममा गुरुङलाई कतार पठाउने नाममा र खड्कालाई मलेसिया जाने युवाहरुको नाममा सिण्डिकेट खडा गरेको आरोप लाग्दै आएको छ ।

सोही क्रममा खड्काले भने विदेश जाने युवाहरुको स्वास्थ्य परीक्षणको नाममा सिण्डिकेट खडा गरेको आरोपपछि सरकारले नै उनीमाथि अनुसन्धान गरेको थियो । मलेसिया जाने युवाहरुको स्वास्थ्य परीक्षणको नाममा सिण्डिकेट खडा गरेको तथा ठगी गरेको पुष्टि भएपछि मुद्दा चलाइएको थियो । खड्काले मलेसिया जाने नेपालीको स्वास्थ्य परीक्षण ३९ वटा संस्थाले मात्र गर्नसक्ने गरी सिन्डिकेट लागू गर्न सफल भएका थिए ।

तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणसहित भिसा प्रक्रियाका लागि खडा गरिएको बायोमेट्रिक प्रणाली भित्र्याउन मुख्य भूमिका खेलेको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाएका थिए । सोेही क्रममा २०७५ जेठ २ गते स्वास्थ्य परीक्षणलगायतका विभिन्न नाममा विदेश जाने युवाहरुलाई ठगी गरेको आरोपमा ४० जनाभन्दा बढी मेनपावर निकट व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो भने खड्का भने फरार रहेका थिए । पछि खड्काविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाए पनि उनले सफाइ पाएका थिए ।

त्यस्तै गुरुङले पनि कतार जाने कामदारको लागि कतारी भिसा सेन्टर सञ्चालन गर्दै कामदारमाथि सिण्डिकेट खडा गरेको आरोप लागेको छ भने विदेश पठाउने नाममा युुवाहरुलाई ठगी गरेको उजुरी समेत वैदेशिक रोजगार विभागमा परेको छ । वैदेशिक रोजगार ऐनको दफा ३८ मा वैदेशिक रोजगार बोर्डमा श्रमविज्ञबाट एक महिलासहित दुई जना र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा उनले सिफारिस गरेका एक महिलासहित दुई जना सदस्य हुने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुरुप संघका तर्फबाट अध्यक्ष विष्णु गैरे र कोषाध्यक्ष इन्दिरा गुरुङ बोर्डका सदस्य छन् भने अझै एक जना महिला विज्ञको नियुक्ति भने बाँकी नै रहेको छ ।

गुरुङ विज्ञ पदमा नबस्ने : यसैबीच गुरुङले बोर्डको विज्ञ पदमा आफू नबस्ने बताएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । उनले कोभिडको कारण वैदेशिक रोजगारीको क्षेत्रमा जटिलता देखिएको र व्यक्तिगत अस्वस्थताको कारणले सदस्य पदमा रहेर काम गर्न असमर्थ रहेको भन्दै विज्ञ पदमा नबस्ने बताएका छन् । पत्रमा भनिएको छ, ‘सम्मानित र मर्यादित बोर्डमा रहेर आफ्नो योग्यता र दक्षताअनुसारको परिणाममुखी कार्य गर्ने अभीष्ट हुँदाहुँदै पनि कोभिड–१९ को महामारीले सृजित विषम परिस्थिति र विश्व अर्थतन्त्रमा पर्न गएको ऋणात्मक असरको अतिरिक्त वैदेशिक रोजगारको क्षेत्रमा देखिएको जटिलता र व्यक्तिगत अस्वस्थताको कारणले तत्कालका लागि बोर्डको सदस्य पदमा रहेर काम गर्न असमर्थ भएको व्यहोरा अनुरोध गर्दछु ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया