Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहस्तकला महासंघको सम्पदा पदयात्रा

हस्तकला महासंघको सम्पदा पदयात्रा


काठमाडौं । नेपाल हस्तकला महासंघले सम्पदा पदयात्रा २०८० को आयोजना गरेको छ । महासंघको कला तथा शिल्प परिषद्को आयोजना र ललितपुर महानगरपालिका, उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिको सहकार्यमा पदयात्रा सञ्चालन गरिएको महासंघले जनाएको छ ।

हस्तकला विधामा संलग्न कलाकार उद्यमी व्यवसायीलाई ललितपुरको विभिन्न महाविहारमा अवस्थित मौलिक कलाकृति, संस्कृति, सम्पदा एवम् प्रचलनका बारेमा स्थलगत अध्ययन अवलोकन गरी नेपालको संस्कृति एवम् सम्पदा क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न अभिप्रेरित गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको महासंघले जनाएको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पदयात्राको उद्घाटन गरेकी थिइन् । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालको मौलिक कला र संस्कृतिका कारण नेपालले विश्वमा प्रसिद्धि कमाउन सकेको बताए । उनले समयानुकूल ऐतिहासिक कलाकृति, संस्कृति तथा सम्पदा संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सम्पदा यात्राको क्रममा सहभागीले ललितपुरस्थित चार वटा ऐतिहासिक महाविहारहरू हिरण्यवर्ण महाविहार (क्वाःबहाल), दीपावती महाविहार (गुँईतबही), मयुरवर्ण महाविहार (भिन्छेबहाल) र रुद्रवर्ण महाविहार (ओकुबहाल) मा स्थलगतरूपमा भ्रमण गरी सम्बन्धित विज्ञबाट त्यस क्षेत्रको जानकारी लिएका थिए । यात्रामा महानगरपालिकाका उपप्रमुख, वडाध्यक्षहरू, महासंघका पूर्वअध्यक्षहरू, कलाकार, उद्यमी, व्यवसायी गरी ८०भन्दा धेरैको सहभागिता रहेको थियो । यात्रामा अक्षेश्वर परम्परागत बौद्धकला महाविद्यालयमा अध्ययनरत चीन र जापान मूलका विद्यार्थीको समेत सहभागिता रहेको थियो । उल्लेखित स्थानको पदयात्रापश्चात् ओकुबहालमा कार्यक्रमको समापन गरी सहभागीलाई प्रमाणपत्र विवरण गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया